News & Events

January 13, 2020

क्ष

क्ष – महिलाको क्षमता | Writer – Rita Baramu | Artist – Ishan Pariyar
महिलाको क्षमताको कुरा आउदा प्रायः दुई खाले टिप्पणीहरु सुन्न पाइन्छ । एक थरीले भन्छ, महिला जननी हो । सृष्टिकर्ता हो । नौ महिना सम्म सन्तानलाई आफ्नो कोखमा राखेर दशधारा दुध पिलाएर सन्तानलाई हुर्काउने क्षमता अरुमा हुँदैन । त्यसैले उनीहरु महान् छन् । हिन्दु संस्कृतिमा उनीहरु देवी समान पुज्य छन् । अर्कोथरीले भन्छ, महिलाहरु शारिरीक र भावनात्मक रुपमा कमजोर हुन्छन् । प्रकृतिले नै उनीहरुलाई यस्तै बनाएको हो । उनीहरुको यहि जन्मजात र प्राकृतिक क्षमताका कै कारण समाजमा पुरुष र महिलाबीच कामको विभाजन भएको हो । यसर्थ पुरुषहरु बाहिर काम गर्ने र महिलाहरु सन्तान उत्पादन, रेखदेख र घरायसी काममा फिट भएका हुन्छन् । सार्वजनिक वृतमा गरिने कामहरुमा पुरुषसँग प्रतिस्पर्धा गर्नका लागि महिलाहरु असक्षम हुन्छन् ।

यसरी एकथरीले महिलालाई महान् घोषणा गरेर र अर्को थरीले प्रकृतिलाई दोष दिएर महिलाको क्षमताको मानक तय गरिदिएको छ । यीनै पितृसत्तात्मक व्याख्याहरुले आजसम्म महिलाको सामाजिक, साँस्कृतिक, आर्थिक, मनोवैज्ञानिक सशक्तिकरणमा अवरोध सिर्जना गरिरहेको छ । जति प्रयास गर्दा पनि महिलाहरु “क्षमतावान” बन्न सकिरहेका छैनन् ।
आज जब लैंगिक समानताको कुरा गरिन्छ मानिसहरु क्षमताको प्रसंग उठाउछन् । जब महिलालाई समान अवसर दिइनुपर्ने र समावेशीता अनि सकारात्मक विभेद लागु हुनुपर्ने कुरा आउँछ कथित क्षमताको प्रसंग निकालेर बहसलाई बङ्गयाउने काम गरिन्छ । भन्नेबेला पुरुष समान हुँ भन्ने अनि समावेशीता र कोटाको लोभ गर्ने…..यदि साँच्चिकै क्षमता छ भने प्रत्यक्ष प्रतिस्पर्धा गरेर आउँन् न भनिन्छ । यसो भन्नेमा सामान्य जनता वा कार्यकर्ता देखि नेता, अभिनेता, अभियन्ता, पब्लिक फिगरकै मानिसहरु पनि पर्छन् । चाहे महिला होस् या पुरुष सबैले कथित क्षमताको रट्टा लगाएकै हुन्छन् । तर संरचनात्मक विभेदका कारण परिभाषित क्षमता बढाउन महिलाहरुलाई कति गाह्रो छ भन्ने कुरा न उनीहरुले बुझेका छन् न बुझ्ने चासो नै छ ।

यसबारे बैज्ञानिक अल्र्बट आइन्टाइन भन्छन्, सबै मानिस क्षमतावान् हुन्छन् तर यदि माछालाई उसको रुख चढ्ने क्षमताले नापिन्छ भने उसले सारा जिन्दगी आफू मूर्ख छु भनेर बिताउँछ । हुन पनि क्षमताको मापन एकै ढाँचामा र पुरुषकेन्द्रीत भएर गर्ने गरिन्छ । महिलामा क्षमता नभएको होइन उनीहरुको क्षमतालाई इतिहास देखि नजर अन्दाज गरिएको छ । गलत तरिकाले मापन गरेर अवमूल्यन गरिएको छ । यदि संरचनात्मक विभेद नहुँदाे हो वा हट्ने हो भने महिलाहरुको क्षमताको शक्ति र प्रभाव सहज रुपमा बाहिर आउँनेछ । यद्यपी महिलाहरुले गर्दै आएको कामलाई क्षमताको परिभाषाले नसमेटेको पनि सत्य हो । र क्षमताको यो बहसलाई महिलाको आँखाले नहेरेसम्म यो पूर्ण र न्यायोचित हुने छैन ।

 

You might also like