News & Events

January 13, 2020

ज्ञ

ज्ञ- ज्ञान । Writer – Rita Baramu | Artist – Prakash Ranjit
ज्ञानको परिधी फराकिलो हुन्छ । कुनै विषयको बारेमा जानकारी, शिक्षा वा चेतना हुनु ज्ञान भएको मानिन्छ । ज्ञान पढेर, सुनेर, हेरेर, महसुस गरेर वा अनुभव इत्यादी धेरै स्रोतबाट हासिल गर्न सकिन्छ । आधुनिक युगमा औपचारिक शिक्षाको सुरुवातसँगै स्कूल वा विश्वविद्यालयबाट ज्ञान पाउन सकिने आधारहरु तय भएका हुन् । हिन्दु संस्कृति अनुसार शिक्षाको विकासलाई हेर्ने हो भने विभिन्न गुरुकूलहरु मार्फत् ज्ञान आदान प्रदान गर्ने काम गरिन्थ्यो । तर ज्ञान निर्माण र यसको आदान प्रदान गर्ने काममा महिलाहरुमाथी सुरुवात देखि नै विभेद भएको छ ।
ज्ञान निर्माणको समग्र प्रक्रिया नै पुरुषकेन्द्रीत रहदै आयो । पढने, लेख्ने, संसारको व्याख्या गर्ने, रीतिरिवाज बसाउने काममा सधै पुरुषहरुकै हालीमुहाली रह्यो । महिलाहरुलाई घर भित्रको नीजि क्षेत्रमा सिमित गरियो । उनीहरुलाई पढ्ने र लेख्ने अवसरबाट बञ्चित गराइयो । पढलेख गरे पनि केवल घर र बालबच्चा सम्हाल्नको लागि आवश्यक ज्ञान सिर्जना गरी उनीहरुमाथी थोपरियो । मानव सभ्यताको विकासमा महिलाहरुले गरेको योगदानको कतै उल्लेख गरिएन । समग्रमा महिलाहलाई इतिहास, ज्ञान निर्माण र यसको हस्तान्तरणमा पछि पारियो ।
यद्यपी नारीवादी अभियानसँगै संसारमा महिलाहरुले पनि शिक्षा आर्जन गर्न पाउनुपर्ने कुरा उठ्यो । महिलाहरुको आफ्नै ज्ञान निर्माण र आदानप्रदान बारे बहस थालनी भयो । चली आएको ज्ञान निर्माण र यसको आदानप्रदानको विधी माथी प्रश्न गर्न थालियो । त्यस्तो ज्ञान कसले, कसरी र केका लागि निर्माण गरिरहेछ भन्ने प्रश्नको उत्तर खोज्न थालियो । मुख्यतः त्यस्तो ज्ञानमा पितृसत्तालाई जोगाइराख्ने कारकहरु भएको कुरा खुल्दै गयो । यसर्थ पितृसत्तात्मक संरचनालाई चुनौती दिने खालको बैकल्पिक ज्ञान निर्माण जसले समग्र महिला, पुरुष र सिमान्तकृत वर्गबीच समान हैसियत कायम गर्न सघाउ पुगोस् भन्ने आवाज सुनिन थाल्यो । र त्यस्तो नारीवादी ज्ञान निर्माण र त्यसको वितरणबाट नै परम्परागत ज्ञान र पितृसत्तात्मक संरचना भत्काउन सकिन्छ र यो नै हाम्रो समयको माग र आवश्यकता हो ।

You might also like