News & Events

January 13, 2020

त्र

त्र – त्रास | Writer – Rita Baramu | Artist – Sabita Dangol
त्रास मतलब भय । महिलालाई पितृसत्ताको परिधीभित्र कज्याएर राख्ने हतियार मध्येको एक सशक्त तर निकृष्ट हतियार हो त्रास । भनिन्छ सामाजिक मुल्य मान्यता विपरित जानेहरुलाई पहिले हाँसोको पात्र बनाइन्छ । पछि समाज अनुकूल व्यबहार गर्नका लागि धम्की र त्रास देखाइन्छ । त्यतिले नभए पछि उसलाई पागल करार गरी समाजबाट एक्ल्याइन्छ ।

यद्यपी महिलाको हकमा भने त्रासको बादल सदियौं देखि शिरमाथी मडराइरहेकै थियो र छ । जस्तै अँध्यारोको त्रास । कामकाजी लगायतका महिलाहरु अध्यारो नपर्दै घर फिर्न हतार हुन्छ । अँध्यारोसँग उनीहरुको छुट्टै त्रास छ जबकि अध्यारो आफैमा त्रासको स्रोत होइन । अँध्याराभित्र खेल्न आउने चोरी, डकैती, बलात्कार, हत्या इत्यादी त्रासको मूल स्रोत हुन् । हुन त यी घटनाहरु दिनका उज्याला प्रहरहरुमा पनि घट्ने गर्छन् तर पनि अध्यारोसँग महिलाहरुलाई विशेष डर छ । यसको साथै, त्यति मात्र नभइ उसले अँध्यारो भएपछि घरमा पाइला टेक्दा झेल्नुपर्ने चरित्रमाथीको प्रश्नहरु पनि त्रासको स्रोत हुन् । कहाँ थियौ ? कोसँग के गर्दै थियौ? इत्यादी प्रश्नहरुको त्रास । आफ्नो चरित्रमाथि “दाग” लाग्ने त्रास । यस्तो चरित्र जुन महिलाको शरीर र विशेषगरी उसको योनीको प्रयोगसँग मात्र जोडिएर आउँछ । पुरुषको आउदैन ।

लोग्नेसँगको त्रास । बैवाहिक बलात्कारको त्रास । मानसिक त्रास । धर्मको नाममा पाप र पुण्यको त्रास । समाजले त्रासै त्रासभित्र महिलालाई कैद गरेर जन्माएको छ । हुर्काएको छ । र कज्याएको छ ।

You might also like