News & Events

January 13, 2020

ब – ‘बोक्सी’ प्रथा | Writer – Rita Baramu | Artist – Anamika Gautam
मानव समाजमा रहेको विभिन्न अन्धविश्वासहरु मध्ये एउटा हो ‘बोक्सी’को विम्ब । सामान्य अर्थमा ‘बोक्सी’ भन्नाले टुना मुना र तन्त्र मन्त्र जानेको महिला भनी बुझिन्छ . जसले ती मन्त्रको प्रयोग गरी अरुलाई हानी र आफूलाई लाभ लिने काम गर्दछ । तर यो अन्धविश्वास र लैंगिक हिंसाको एउटा रुप मात्र हो भन्ने कुरा बोक्सी आरोप लगाई गरिने कुटपिट जस्तो घटनाको प्रकृतिलाई हेरी भन्न सकिन्छ । किनकी एकः त्यस्ता घटनाहरुमा आरोपित सधैजसो महिला नै हुन्छिन् । दुईः महिला सधै आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक रुपले पछि पारिएको समूदायकै हुन्छिन् । अर्थात् कि त दलित वा सिमान्तकृत समुदाय, कि गरिब परिवार कि एकल महिलालाई बोक्सी करार गरी यातना दिइएको पाइन्छ । विशेषगरी एकल महिलालाई आफ्नै परिवारका सदस्यले पनि उसको सम्पत्ति,श्रम र यौनिकतामाथी कब्जा जमाउनका लागि ‘बोक्सी’को आरोप लगाई उसको सफाया गर्ने गरेको पाइन्छ।

‘बोक्सी’ प्रथा १४औ देखि १६ शताब्दी तिर पाश्चात्य समाजमा समेत प्रचलित थियो । विच हन्टिङ्ग अर्थात् बोक्सी हत्याको अभियान स्वरुप करौडौं महिलाहरुलाई ‘बोक्सी’को आरोपमा मारिएको इतिहास छ । यसरी मार्नुको पछाडी धर्मले स्थापना गरेको महिला पुरुष बिचको शक्ति असन्तुलन, स्त्रीद्वेषी चरित्र र त्रासको वातावरण सिर्जना गरी महिलाको सम्पूर्ण चीजमा कब्जा जमाउने नियत इत्यादि कारण रहेको नारीवादी प्राज्ञहरुको ठहर छ । नेपालको हकमा पनि ‘बोक्सी’ प्रथा कायम रहनुमा यस्तै कारणहरु रहेका छन् ।

२०७४ साल फागुन महिनामा कैलाली जिल्लाकी १८ वर्षीय राधा चौधरीमाथि भोले बाबा भनिने रामबहादुर चौधरीले ‘बोक्सी’को आरोप लगाई दिनभर गाँउलेहरुका सामू कुटपिट गरी मरणासन्न अवस्थामा पुर्याए ।

‘बिहान आँगन सफा गरिरहेकी थिएँ, एकाएक जबर्जस्ती मलाई बाँधेरबाबा भएको ठाउँमा लगे,’ शुक्रबार उपचारका लागि सेती अञ्चल अस्पतालल्याइएकी पीडित चौधरीले भनिन्, ‘उनीहरूले बोक्सी झार्नुपर्छ भन्दै जबर्जस्ती उठाएर किस्मतीको आँगनमा पुर्याए ।’ आफूलाई पुर्याइँदा त्यहाँ धेरै मान्छे जम्मा भइसकेको बताउँदै उनले भनिन्, ‘मेरा संवेदनशील अंगदेखि शरीरभरि कुटपिट भयो ।’ उनले ‘बोक्सी हुँ’ भनेर नस्वीकार्दासम्म घण्टौं कुटपिट भइरहेपछि स्वीकार्न बाध्य भएको बताइन् (Kantipur Falgun 25, 2074) ।

माथिको घटना पश्चात् कथित झाँक्री रामबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडमा हिरासतमा लिइयो । त्यस लगत्तै उनलाई छुटाउन सयौंको संख्यामा स्थानीय प्रहरी कहाँ पुगेको र प्रहरीले घोडघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित राधा चौधरीका बुवा जोखन चौधरी लगायतको रोहवरमा उनलाई छोडिएको समाचार सार्वजनिक भएको थियो । यसरी एउटा अन्धविश्वासको जगमा एउटी निरीह महिला माथि गरिएको निर्मम यातनाको सजाय पाउनु त परको कुरा दोषी पुरै सोही अन्धविश्वास र आफ्नो शक्ति र प्रभावका कारण छुट्ने गरेको र दण्डहीनताले अझै प्रश्रय पाइरहेको देखिन्छ ।

You might also like