News & Events

January 13, 2020

म – महिला | Writer – Kriti Adhikari | Artist – Ishan Pariyar
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या करिब २ करोड ६५ लाख रहेको छ । यस तथ्यांकमा ५१.५० प्रतिशत महिलाको जनसंख्या रहेको केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको ‘नेपालको तथ्यांकीय झलक २०७६’ बाट उदृत गर्न सकिन्छ । यस झलकमा नेपालका पारलिंगी तथा अन्य लैंगिक समुदायका व्यक्तिको भने तथ्यांक कतै पनि भेटिदैन । सोही प्रतिवेदनमा उल्लेख भए अनुसार महिला परिवारमूली भएका घरपरिवारको प्रतिशत २५.७ रहेको छ भने महिलाको स्वामित्वमा घर र जग्गा वा जग्गा मात्र भएका घरपरिवारको प्रतिशत १९.७ रहेको छ । थप तथ्यांक हेर्दै जाने हो भने विवाहको सरदर उमेर महिलाको २०.६ रहेको छ भने पुरुषको २३.८ । नेपालीको औसत आयु २०५८ बाट २०६८ सम्म आइपुग्दा ६०.४ बाट ६६.६ पुग्यो जसमा पुरुषको ६५.५ (वृद्धि – ५.४) र महिलाको ६७.९ (वृद्धि – ७.२) रहेको छ । केन्द्रीय तथ्यांक विभागले २०७६ सालमा प्रकाशन गरेको राष्ट्रिय आर्थिक गणना २०७५ मा उल्लेख भए अनुसार संस्था व्यस्थापकको पदमा २९.६ प्रतिशत महिला छन् भने २९.८५ प्रतिशत महिलाको स्वामित्व रहेको छ । नेपाल भरिका यी संस्थाहरूमा संलग्नताको हिसाबमा ३७.६७ महिला रहेका छन् ।

जनसंख्या मोनोग्राफ २०११ मा उल्लेख भए अनुसार २०११ मा समग्र साक्षरता दर ५४% (२००१ मा) बाट बढेर ६७% पुगेको छ । महिला साक्षरता ४३% (२००१ मा) बाट बढेर २०११ मा ५८% पुगेको छ, जसले सार्क राष्ट्रहरू मध्ये नेपाल चौथो स्थानमा छ । यस प्रतिवेदनले २०७० मा लैङ्गिक असमानता सूचकांक ०.४८५ रहेको दर्शाउछ । २०६८ को जनगणना अनुसार आर्थिक रुपमा सक्रिय महिला ४६.८ प्रतिशत थिए भने पुरुष ६२.५ प्रतिशत थिए । प्रति व्यक्ति क्रय शक्ति समता अनुपात (अमेरिकी डलरमा) पुरुषको १५५८ रहेको छ भने महिलाको १०९५ मात्र रहेको छ ।

सोही प्रतिवेदनमा लैङ्गिक स्थितिको अंशमा यो उल्लेख रहेको छ : (अनुवादित) “लैङ्गिक विकास सूचकांक (जीडीआई) ले एचडीआई (मानव विकास सूचकांक) को समान चरहरूको प्रयोग गर्छ, तर महिला तथा पुरुषको बीच उपलब्धिको असमानतालाई पनि ध्यानमा राख्छ ।” सोही प्रतिवेदनको तालिका ६.४० मा भए बमोजिम “२०४८ मा पुरुषको तुलनामा महिला १०४ प्रतिशत अंकले पछाडी थिए, २०५८ मा केवल २० प्रतिशत अंकले र २०६८ मा फेरी ५९ प्रतिशत अंकले । महिलाको औसत आयु अहिले पुरुषको भन्दा बढी छ, र शैक्षिक क्षेत्रमा उपलब्धि पनि बढीरहेको छ तर पुरुष र महिलाबीच अझै पनि अन्तर रहिरहेको छ । यसका साथै, आयको स्तरमा पनि पुरुष र महिलामा भारि अन्तर रहेको छ । लैङ्गिक विकास सूचकांक (जीडीआई) को मान ० देखि १ को बीचमा हुन्छ । यदि यो मान १ हुन्छ भने यसले पूर्ण लैङ्गिक समानता छ भन्ने जनाउँछ, तर ० छ भने पूर्ण लैङ्गिक असमानता जनाउँछ ।” सो प्रतिवेदन अनुसार २०६८ मा लैङ्गिक विकास सूचकांक ०.४८२ रहेको छ ।

You might also like