News & Events

January 13, 2020

य – यौन हिंसा | Writer – Rita Baramu | Artist – Prakash Ranjit
यौनिकतालाई मानिसले यौनको पर्यायवाचीका रुपमा बुझ्ने गर्छ । तर यौनिकता भनेको केवल यौन होइन । यौनिकता एक बृहत अवधारणा हो जसमा मानवीय इच्छा, अनूभूति, अभिव्यक्ति, प्रस्तुती लगायत यौनिक कुराहरु समेटिएको हुन्छ । साथसाथै व्यक्तिको लैंगिक पहिचान, यौन अभिमुखिकरण, यौन प्राथमिकता सहित व्यक्तिले जीवनको भावनात्मक, भौतिक, सामाजिक अनि साँस्कृतिक पाटोहरुसँग गर्ने अन्तक्रिया नै यौनिकता हो । यसको परिभाषा हाम्रो सामाजिक मुल्य मान्यताहरुले पनि निर्धारण गर्छ । यौन भनेको यौनिकताको एउटा पाटो मात्र हो ।

हाम्रो समाजमा यौनका कुरा खुलेर गर्न त्यति सहज छैन । यौनको विषयमा कुरा गरे पनि केवल यौन शिक्षा र प्रजनन स्वास्थ्यकाबारे मात्र यसको बहस सिमित गरिन्छ । यौनसँगै आउने चरम आनन्द र सुखको कुरा गरिदैन । यौनका कुरा आउने वित्तिकै छाडा भएको भन्ने आरोप लाग्छ । यसलाई अश्लिल विषय मानी बन्देज लगाइन्छ । तर शील र अश्लीलको परिभाषा कसले र किन गर्छ भन्ने कुराको गहिराईमा यौन किन यति विवादित बन्यो भन्ने अर्थ खुल्छ । मुख्यतः महिलाको यौनिकतालाई नियन्त्रण गर्नका लागि यस्ता श्लील र अश्लील विषयहरुको रेखाङ्कन भएको पाइन्छ । जस्तै हाम्रो समाजमा रहेको कुमारित्वको अवधारणा, श्रीमान्को मृत्यु पछि श्रीमतिले उसैको विधवा भएर बस्नुपर्ने चलन, महिलाको गैरबैबाहिक सम्बन्धलाई लिएर समाजमा हुने नकारात्मक टिप्पणी इत्यादीले महिलाको यौनिकतालाई नियन्त्रण गर्न खोजेको छ भन्ने देखिन्छ । र यसभित्र नपर्ने महिलालाई समाजले सिधै अश्लील र चरित्रहीनको दर्जामा राख्ने गर्छ ।

महिलाको यौनिकता नियन्त्रण गर्नका लागि पितृसत्ताले हिंसाको बाटो अपनाउने कुरा पनि सत्य हो । हिंसा भित्र शारिरीक, मानसिक, घरेलु देखि यौन हिंसासम्मका घटनाहरु पर्छन् । महिलाहरु माथी हुने बलात्कार, यौन उत्पीडन इत्यादी अपराधहरु यौन हिंसा हुन् । जसमा महिलाको मञ्जुरीबिना उनीहरुमाथी यौन हिंसा गर्ने र त्यसलाई दबाउनको लागि विभिन्न प्रलोभन, साथै शक्ति र सत्ताको आडमा डर, धम्की देखाउने काम पनि हाम्रै समाजमा भएका छन् ।

You might also like