News & Events

January 13, 2020

ल – लैंगिक समानता / विभेद | Writer – Nisha Karki | Artist – Kuntishree Thapa
जैविक दृष्टिकोणले पुरुष र महिला एक अर्का भन्दा फरक भएकाले नै शारीरिक प्रक्रियादेखि लिएर मनोवैज्ञानिक कुराहरूमा सम्म महिला र पुरुष एक अर्काबाट धेरै कुरामा फरक हुन्छन् । तर एकै कुरालाई हेर्ने दृष्टिकोण वा कार्यान्वयन गर्ने तरिका जति नै फरक भएता पनि लिङ्गलाई आधार बनाएर कसैलाई उच्च वा नीच व्यवहार देखाइन्छ भने त्यो लैङ्गिक विभेद हो । थुप्रै कुप्रथाले घेरिएको हाम्रो समाजमा यो लैङ्गिक विभेदले पनि हरेकको घर समाजमा नराम्ररी जरा गाडेर बसेको छ ।

विश्व आर्थिक फोरमका अनुसार, सन् २०१६ को ग्लोबल जेन्डर इन्डेक्समा नेपालले लैङ्गिक समानतामा १४४ मुलुकमध्ये ११० औं स्थान ओगटेको थियो । पुरातनदेखि पितृसत्तात्मक चलनचल्तीलाई मान्यता दिदै आइरहेको हाम्रो समाजमा कुनै युगमा पनि हरेक लिङ्गलाई समान नजरले कहिल्यै हेर्न जानेको देखिदैन । यसै पनि हरेक तरिकाले महिलालाई सधैँ दबाउन खोज्नेको बिच जसोतसो लडेर कोही अगी बढिहाल्दा पनि, त्यो ठाउँमा महिलालाई पुरुष जतिको सम्मान दिइदैन ।

केन्द्रीय तथ्यांक विभागको रिपोर्टले नेपालमा पुरुष र महिला कामदारहरूको बीच व्यापक असमानतालाई प्रकाश पारेको छ – एकै स्थानमा, दुवै लिङ्गको शिक्षाको स्तर समान भएता पनि महिलाले आफ्नो पुरुष समकक्षहरूको तुलनामा औसतमा २९.४५ प्रतिशत कम कमाउँछन् । यो त अझ धेरै परको कुरा हुन सक्छ जब कति छोरीहरूको त पढ्ने सपना पनि आँखासम्म पनि नपुगी बिलाउँछ । महिलालाई एक मानिसमा नगनी कुनै वस्तु सरि प्रयोग गर्न पल्किएको हाम्रो समाजमा घरको सानो कुनादेखि लिएर सरकारको कुनाकुना सम्म भेदभावलाई कुनै सामान्य परम्परा जसरी निरन्तरता दिन खोजिन्छ ।

महिला भएर जन्मिएपछि यो समाजमा हुर्किदै जाँदा समय सँगै हरेक क्षेत्रमा भेदभावको अनेक रुप त याद गरेर नाभ्याइने हिसाबमा सामना गरिन्छ नै तर कति मुद्दाहरूमा त यो विभेद गर्भदेखि नै सुरु हुन्छ । थुप्रै बच्चालाई यो संसारको एक झलक पनि हेर्न नदिई मारिन्छन् र कारण – छोरी रै’छ । जब आफ्नो पितृसत्तात्मक रवाफलाई कायम राख्ने कुरा आउँछ, मानिसहरूले हरेक सिमा नाघेर बस्ने गर्छन्, मानवताको सम्म सिमा बिर्सेर ।

यस्तो भेदभावले महिला आफैँ पीडित हुनु त आफ्नो ठाउँमा छ जुन पहिले नै गलत छ तर त्यसैमाथि समाज र राष्ट्रको विकासको लागि महिलाको पनि उत्तिकै भूमिका र योगदान रहेको कुरा पनि कसरी सजिलै नजरान्दाज गर्न सक्छन् । अमेरिकी राज्य सचिव हिलारी क्लिन्टनले पनि एकपटक भनेका थिए – “महिलालाई अर्थव्यवस्थामा भाग लिन प्रोत्साहित गर्नु र उनीहरूको उत्पादकत्व बृद्धि गर्नु आर्थिक वृद्धिको कुञ्जी हो किनभने यसले हाम्रो अर्थव्यवस्थाको प्रतिस्पर्धात्मकता र विकास लाई प्रभाव पार्नेछ” । यो कुरालाई सबैले नै मनन गर्न अति आवश्यक छ ।

लैङ्गिक विभेद पक्कै पनि एक कुप्रथा हो र यसको अन्त्य गर्नमा सहायता गर्नु हाम्रो कर्तव्य । यसको लागि हामीले समात्नु पर्ने सबैभन्दा महत्वपूर्ण पाटो भनेको शिक्षा हो । सक्दो शिक्षाले जनचेतना फैलाएर मानिसहरूको लैङ्गिकता प्रतिको गलत धारणालाई बदल्ने कोसिसमा जुटिरहनु पर्ने हुन्छ । लैङ्गिक समानतामा नयाँ पुस्ता हुर्कन सक्ने वातावरण बनाउन हामी सक्षम हुनुपर्छ ।

You might also like