News & Events

January 13, 2020

व – वादी | Writer – Rita Baramu | Artist – Dipak Thami
वादी भन्नासाथ उनीहरुको परिचय यौनकर्मसँग जोड्ने गरिन्छ । तर वादी र यौनकर्म एक अर्काका पर्यायवाची होइनन् । किनकी यौनसँगै र यौनदेखि अलग वादी समूदायको आफ्नै अस्तित्व, संर्घष र जीवन कहानीहरु छन् ।

वादी नेपालको मध्य र सुदूरपश्चिममा बसोबास गर्ने पछि पारिएका समूदाय मध्येको एक हो । नेपालमा वादीहरुको संख्या करिब ७०,००० रहेको अनुमान छ । अधिकतम् वादीहरुसँग आफू बस्दै आएको जमिन वा घरको स्वामित्व छैन । उनीहरुसँग खेती गरिखाने जमिनको अभाव थियो । काम गर्नका लागि शिक्षा र सिपको अभाव थियो । त्यसैकारण यस समूदायका मानिसहरु जीवन धान्नकै लागि कम पारिश्रमिकका ज्यालादारी र यौन व्यबसायमा लागेको तथ्य हो ।

यौन व्यवसयमा लागेका सबै खाले महिलाहरुलाई समाजले हेला गर्छ । राज्य र कानुनले अपराधी वा अनागरिक जस्तो व्यबहार गर्छ । मानिसले आफ्नो गुजारा कि ज्ञान सिप बेचेर हो वा श्रम बेचेर । सीप बेच्ने कार्यलयको कर्मचारीको जति इज्जत हुन्छ आफ्नो शरिरको श्रम वेच्ने यौनकर्मीको त्यति इज्जत हुँदैन । किनभने हाम्रो समाजले व्यक्ति, विशेष गरी महिलाको यौनका निश्चित सीमाहरु तोकिएका छन् । किनभने पितृसत्ताले महिलाको यौनिकतालाई आफ्नो सम्पत्ति ठान्छ।। चरित्र हत्या र स्वाभिमानमाथि प्रहार गरेरै भए पनि आफ्नो बेतुकका सीमाहरु महिलामाथी लाद्न खोज्छ । पितृसत्तात्मक चरित्र भएको राज्यसत्ता पनि उसैगरी यौनकर्मी महिलाहरुसँग जोरी खोजीराख्छ। फलस्वरुप उनीहरुबाट जन्मेको बालबच्चाको नागरिकता पाउन जटिल भइदिन्छ । समाजमा अनैतिक काम गरेको नाउँमा तिरस्कृत र अपमानित गरिन्छ । अनैतिक काम गरेको नाउँमा कानूनी फन्दामा पारिन्छ । उल्टै ठगिन्छ । लुटिन्छ ।

वादी समूदायको हकअधिकारको सन्दर्भमा एउटा छुटाउनै नहुने र ज्वलन्त नाम हो उमा वादी । उनको नेतृत्वमा वि.सं. २०६४ सालमा ५०० वादी समूदायको संलग्नतामा २६ बुँदे मागसहित ४८ दिने आन्दोलन भएको थियो । आफ्नो मागको सुनुवाई नभएपछि उनीहरुले सिंहदरबार घेराउ गरेका थिए । जसमा उमा वादी लगायतका महिलाहरुले ब्रा र पेटिकोट लगाएरै प्रतिकात्मक रुपमा बेजोड प्रदर्शन गरेका थिए । सिंहदरबारको गेट चढ्न लागेको उनको तस्बीर विभिन्न मिडियाहरु छाएको थियो । सिमान्तकृतहरुको यति सशक्त आन्दोलन नेपाली इतिहासमा आजसम्म निकै कम भएका छन् । वादी समुदायको स्थायी बसोवास, बाध्यात्मक यौन व्यवसायको अन्त्य, आमाको नामबाट वादी बच्चाको जन्मदर्ता र नागरिकता उक्त आन्दोलनको मुख्य मागहरु थिए । आन्दोलनपश्चात् सरकारले उनीहरुलाई वार्ताको लागि बोलायो । वादी समूदायको आवास, रोजगार जस्ता केही कार्यक्रमहरु पनि अगाडी सारियो । तर यि सबको कार्यान्वयनको स्थिति कस्तो रह्यो भन्ने पक्ष अध्ययन र मुल्यांकन गरिनु बाँकी रहेको छ ।

उमा वादी २०७४ सालको प्रदेश चुनावमा प्रदेश ७ बाट समानुपातिक सांसद चुनिएकी छिन् । उनी सन् २०१८ मा विविसीको १०० प्रभावशाली महिलाको सूचीमा समेत समावेश भएकी छिन् । वादी महिलाको हक अधिकारको लागि उनी अझै क्रियाशील छिन् र धेरैको लागि प्रेरणा स्रोत बनेकी छिन् ।

 

You might also like