News & Events

January 13, 2020

श- शरीर | Writer – Nisha Karki | Artist – Deepmala Maharjan
हाम्रो समाजमा एउटी छोरी भएर जन्मनु भनेको आफ्नो शरीरमा आफ्नै हक र नियन्त्रण राख्न नपाउनु हो । आफू को हुँ भनेर जान्न नपाउँदै हिड्दा, बस्दा, उठ्दादेखि लिएर सुत्दासम्म छोरीको चालचलन कस्तो हुनुपर्छ भन्ने पाठ घोकाईन्छ । अनि जति उमेर बढ्दै जान्छ त्यति उनको शारिरीक हाउभाउ र शरिर ढाक्ने लुगाहरूमा निगरानी पनि बढ्दै जान्छ । उनको शरिरले पहिरिने पहिरन र प्रदर्शन गर्ने हाउभाउको आधारमा उनको नैतिकता र पवित्रताको मापन गरिन्छ ।

यस्तो पितृसत्तात्मक समाजको नियम अनुसार आफ्नो घरमा रहुन्जेल छोरीको शरीरसँग सम्बन्धित कुराहरूको सबै निर्णय लिने हक पिताको हुन्छ । वैवाहिक सम्बन्धमा गासिएर नयाँ घरमा पुगेपछि ती सबै हक उनको श्रीमान्को हातमा स्वतः सर्छ । यसको विरुद्ध गएर आफ्नो शरीरलाई आफ्नै हिसाबले चलाउन खोज्ने छोरीलाई समाजमा सजिलै “बिग्रेकी” भन्ने गरिन्छ । लाजलाई छोरीको गहना बनाइदिएको समाजमा छोराको हरेक तुच्छ कामलाई “छोरो हो नि त” भन्दै पचाउने गरिन्छ। छोरी भने खुलेर बोल्दा वा हाँस्दा मात्र पनि सिधै उनको चरित्रमा प्रश्न चिन्ह तेर्साउने गरिन्छ ।

महिला शरिरमाथिको यो बन्देज पहिरन र हाउभाउमा मात्र छैन । आफ्नो शरीरबारेमा कुरा गर्नमा पनि बन्देज छ । बढ्दो उमेरसँगै आफ्नो शरीरमा आउने स्वभाविक परिवर्तनहरूको बारेमा आफैँ भित्र कौतुहलता बोकेर अलमलिदा अल्मलिदै कतिको किशोरावस्था झुटो भ्रमहरूले घेरिन पुग्छ । कसैले आँट गरेर यस्ता कुरा गर्न खोजे भने पनि “हेर लाज पचेकी” भन्दै गिज्याइन्छ वा “यस्तो कुरा कहाँ यसरी गर्न हुन्छ?” भन्दै उल्टै चुप लगाइन्छ । अन्त्यमा आफ्नो शरीरलाई बुझ्ने, अन्वेषण गर्ने चाहलाई आफैँ भित्र दबाउदा दबाउदै प्रायः सबैले आफ्नो शरीरको बारेमा बुझ्न र आफ्नो हक खोज्न नै बिर्सिदै जान्छन् ।

यस्ता कुराहरूमार्फत् छोरीहरूलाई आफ्नो शरिर र शरिरका प्रत्येक अंगहरुबारे सोचविचार गर्नु र कुरा गर्नु गलत हो भन्ने सिकाइन्छ । उनीहरुको शरिर र शारिरिक चाहनालाई जबरजस्ती खुम्च्याएर बाँच्न लगाइन्छ । महिलाको शरिरलाई श्रीमान्कै लागि मात्रै उपलब्ध गराउनुपर्ने एक उपभोग्य वस्तु ठानिन्छ । त्यसैले यदि कुनै महिला बलात्कृत भइन् भने बलात्कार पीडित महिला अपवित्र र इज्जत गर्न लायक नरहेको ठहर्याइन्छ । उसको शरिरको निश्चित अंग- विशेषगरी योनी- मा केन्द्रित गरी कुनै पुरुषले भौतिक वा मौखिक प्रहार गरेमा पनि उसको चरित्र मैलिएको र पुरै परिवारको इज्जत गएको मानिन्छ । तर पुरुषको शरिर भने ऊ बलत्कारी होस् वा जतिसुकै हिंस्रक र अत्याचारी नै होस्, सँधै चोखो र इज्जतिलो नै रहीरहन्छ । किनकी पुरुष शरिरको आवश्कयतालाई समाज र परिवारले मान्यता दिन्छ । तर महिला शरिरको आवश्यकता र चाहनालाई इज्जत, प्रतिष्ठा र चरित्रले बाँधिइन्छ । शरिरको आधारमा गरिने यस्तो विभेदित व्यवहार र अभ्यासको अन्त्य हुनु जरुरी छ ।

You might also like