News & Events

January 13, 2020

ष – षोडशी | Writer – Deepmala Maharjan | Artist – Namrata Singh
षोडशीको अर्थ हो ‘सोह्र बर्षकी स्त्री’ । पूर्वीय समाजदेखि पश्चिमी समाजसम्म पनि र प्रचिनकाल देखि वर्तमानकालसम्म पनि महिलाको सोह्र बर्षे यौवनलाई निकै महत्व दिइएको पाइन्छ। पूर्वीय तथा पाश्चात्य इतिहासका कला र साहित्यहरु यसका थुप्रै उदाहरणहरु पाइन्छन्। हुन त यि कलाकृति तथा साहित्यहरुमा युवा पुरुषका गाथाहरु पनि प्रशस्त पाइन्छन् तर जति महिलाका छन् त्यसको तुलनामा पुरुषका नगण्य नै मान्न सकिन्छ। पुरुषको हकमा जहिले पनि विरता र बौधिकताको गाथा गाइन्छ । महिलाको हकमा केबल सुन्दरता र यौवनको कथा सुनाइन्छ । विगतका कला/साहित्यले गरेको ‘सोह्र वर्षे कुमारी स्त्री’ को रुपको बखान र आजको ‘विकसीत’ समाजमा मीडियाले महिलाको शरीरलाई जसरी प्रस्तुत गरिरहेका छन्, ति दुवैमा एक समान कुरा छ- महिलाको वस्तुकरण । महिलालाई केबल पुरुषले प्रयोग गर्न सक्ने वस्तुको रुपमा प्रस्तुत गर्ने गरिएको छ ।

बिसौँ शताब्दिदेखि सञ्चार माध्यमको तिव्र विकाससँगै संसार साँघुरियो। रेडियो तथा टेलिभीजनका माध्यमबाट विश्वका हरेक कुनाका खबरहरुमा आम मानिसहरुको पहुँच बढ्दै गयो। त्यसैगरी मनोरञ्जनका साधनहरुमा पनि यी साधनहरु पहिलो नम्बरमा पर्नथाल्यो। यसका सँगसँगै आफ्ना उत्पादनहरुको विक्री बढाउनका लागि यि माध्यमहरुमा विज्ञापन दिने प्रचलन पनि बढ्दै गयो। विज्ञापनको संस्कृतिलाई विशेषगरी टेलिभिजनले निकै ठूलो योगदान दिएको हामी सजिलै अनुमान गर्न सक्छौँ। र विज्ञापनको यही संस्कृति सँगसँगै उदय भयो महिलाको वस्तुकरणको नयाँ अध्याय। आज विज्ञापन जस्तै टेलिभिजनका अन्य कार्यक्रमहरु, चलचित्रहरु, गीत/संगीतका भिडियोहरु, प्रिन्ट मीडियाका विज्ञापनहरु, होडिङ् बोर्डहरु आदि जस्ता सम्पूर्ण मीडियहरुमा महिलाको वस्तुकरण गरिएका उदाहरणहरु छ्यापछ्याप्ति पाइन्छन्।

वस्तुकरण सिद्धान्त (objectification theory)को प्रतिपादन पहिलो पटक सन् १९७० मा भएको थियो। यस सिद्धान्तका अनुसार (विशेषगरी) सञ्चार माध्यमले महिलाको शरीरलाई पुरुषले प्रयोग गर्ने वस्तुको रुपमा मात्र प्रस्तुत गरेर महिलाको वस्तुकरण गरेको हुन्छ। महिलाका विभिन्न अंगहरुलाई उनको समग्र व्यक्तित्वसँग अलग्गै प्रस्तुत गरी उनलाई पुरुषहरुको यौनेच्छा पूर्तिका लागि उपयुक्त भएको ठहर गरीएको हुन्छ। यहाँ उनको समग्र व्यक्तित्व, उनको बौधिक क्षमता वा उनको अस्तित्वसँग केहि मतलब हुँदैन। उनको मूल्य केबल यौनसँग मात्रै जोडिएको हुन्छ। चलचित्रहरुका भद्दा आइटम गितहरुमा प्रयोग गरिएका भद्दा नाचहरु, गाडी तथा मोटरसाइकलका विज्ञापनहरुमा महिलाको शरीरलाई ति वस्तुहरुसँग तुलनागरी देखाइएका क्लोजअप दृश्यहरु, पेय पदार्थहरुका विज्ञापनमा हुने महिला शरीरको प्रयोग आदि यस्ताखालका वस्तुकरणका उदाहरणहरु हुन्।

आजका मानिसहरुको सामाजीकीकरणमा तथा उनिहरुले बनाउने सोचहरुमा यी मीडियाहरुको निकै ठूलो हात हुने समयसमयमा हुँदै आएको विभिन्नखालका अनुसन्धानहरुले पुष्टि गरेको कुरा हो। यसर्थ मीडियाले देखाउने महिला प्रतिको यस्तो खालको छविले आम मानिसमा ‘महिला भोग्या नै मात्र हुन्’ अथवा ‘महिला भनेका पुरुषले भोग्न कै लागि मात्र हुन्’ भन्ने पितृसत्तात्मक सोचले अझ बढि जरो गाड्न सफल भएको हामीले सजिलै थाहा पाउन सक्छौँ। आजको समाजमा महिला विरुद्धका हिंसामा कमि नआई झन् फरकफरक खालका हिंसाहरु बढ्दै जानु नै यसको प्रमाण हो। त्यसकारण महिला विरुद्धका जति पनि हिंसाहरु छन् तिनलाई न्युनिकरण गर्नलाई सबैभन्दा पहिले यो वा त्यो नाममा हुने महिलाको वस्तुकरणलाई अविलम्ब रोक्न जरुरी छ ।

You might also like