News & Events

January 13, 2020

ह – #हामीपनि #मपनि | Writer – Deepmala Maharjan | Artist – Anamika Gautam
#हामीपनि अथवा #मपनि (#MeToo), पितृसत्ताको छाहारीमा खडा गरिएको यौन दूर्व्यवहारमाथिको मौनताको पर्खाललाई तोड्ने एउटा अभियान हो । विशेषगरी सामाजीक सञ्जालहरुमा व्यापकता पाएको यो अभियानको सुरुवाट भने भिन्न तरिकाले भएको थियो। अमेरिकी सामाजिक अभियन्ता तराना बर्कले सन् २००६ मा यौनहिंसा तथा उत्पिडनबाट पिडित महिलाहरु खासगरी अश्वेत तथा निम्मवर्गका महिलाहरुको सशक्तिकरणका लागि MeToo अभियान सुरु गरेका थिए। उनको यो अभियानको उदेश्य पिडितहरुलाई संसाधन उपलब्ध गराउने मात्रै नभई पिडितहरुलाई नै प्रशिक्षित गरेर यौनहिंसा विरुध्द वकालत गर्ने समाज तयार गर्ने थियो। तर उनको अभियानले राष्ट्रिय तथा अन्टराष्ट्रिय चर्चा भने पाएको थिएन। यसको ११ वर्ष पछि सन् २०१७ को अक्टोबर १५ मा अमेरिकी अभिनेत्री एलिसा मिलानोले आफ्नो ट्वीटर अकाउन्टमा ‘यदि तपाईं कहिल्यै यौन उत्पीडनमा पर्नुभएको छ भने यो ट्वीटको प्रत्यत्तरमा ‘मी टू’ लेख्नुहोला’ भनेर ट्वीट् गरिन्। उनको यो ट्वीट् पछि छोटो समयमै यौनहिंसा तथा उत्पिडनका कथाहरु ओइरिन थाले। ट्वीटर, फेसबुक तथा स्न्यापचाट जस्ता सामाजिक सञ्जालहरुमा #MeToo प्रसिध्द बन्यो र पिडितहरु प्रति ऐक्यबध्दता जनाउनेहरुको पनि ओइरो लाग्यो। सामाजिक सञ्जालहरुमा कथाहरुको ओइरोसँगै पिडकहरुलाई कार्बाहि गर्ने प्रकृया पनि बिस्तारै अघि बढ्दै गयो। वर्षौंसम्म मौन बसेका पिडितहरु खुलेर अगाडि आए र स्वच्छ भन्दा स्वच्छ व्यक्तित्वको नकाप बोकेका शक्तिशाली तथा सफल व्यक्तिहरुको वास्तविकता उजागर भए। अमेरिकाका प्रसिध्द चलचित्रकर्मीहरुसँगै प्राज्ञिक, व्यवसाय तथा धार्मिक क्षत्रका शक्तिशाली पुरुषहरुको पर्दाफास भयो।
अमेरिकाबाट सुरु भएको यो अभियान छिट्टै नै संसारभरी फैलियो र अझै फैलँदो छ। संसारभरीका विभिन्न देशहरुका लुकेर बसेका यौनहिंसा, विशेषगरी कार्यस्थलमा भएका नयाँ पुराना हिंसाका घटनाहरु बाहिर आए। हाम्रो छिमेकी देश भारतमा बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरलाई यौन दुर्व्यवहारको आरोप लगाएसँगै मिटू सुरु भएको देखिन्छ। यस लगत्तै अरु थुप्रै सफल चलचित्रकर्मीहरुमा आरोपको क्रम जारी छ। त्यसैगरी पत्रकार, संगितकार तथा राजनिती क्षत्रका हस्तिहरुमा पनि आरोप लाग्ने क्रम जारी छ। २० भन्दा बढी महिलाहरुले यौनहिंसाको आरोप लगाएपछि देशका विदेश राज्यमन्त्री एमजे अकबर राजीनामा दिन बाध्य भए। भारतबाट यो अभियान ढिलै भएपनि नेपाल छिर्यो।
दुई महिलाले काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापितमाथि यौन उत्पीडनको आरोप लगाए। त्यसैगरी एक पत्रकारले आफुलाई एक मन्त्रीले सार्वजनिक कार्यक्रममै नितम्बमा हात राखेको कुरा बाहिर ल्याए। त्यसैगरी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कृष्ण भट्टचनलाई पनि उनकै पूर्व विद्यार्थिहरुले अनुचित व्यवहार गरेको आरोप लगाए। तर यी सबै आरोपहरु आरोपमै मात्र सिमीत रह्यो, खासै कुनै उपलब्धि हुन सकेन, उल्टै पिडितहरुमाथि नै प्रत्यारोप लगाइए। पछिल्लो समयमा नाट्य क्षत्रमा हुने गरेका यौन दुर्व्यवहारका घटनाहरु सार्वजनीक भए। वान वर्ल्ड थिएटरका राजकुमार पुडासैनी, मण्डला थिएटरका राजन खतिवडा, गुरुकुलका संस्थापक सुनिल पोख्रेल लगायतका व्यक्तिहरुलाई यौनहिंसाको आरोप लाग्यो। पुडासैनी र खतिवडाले आफ्नो गल्ति स्विकारेर सार्वजनिक रुपमा माफि पनि मागे। उनिहरु सम्बन्धित थिएटरहरुले उनिहरुलाई १ वर्षको लागि निलम्बन गरेको पनि घोषणा गरे। पोख्रेल भने मौन रहे। शैक्षिक क्षेत्र तथा राजनिती क्षेत्रमा आरोप-प्रत्यारोपमै सिमित रहेको मिटू अभियानमा नाट्य क्षेत्रको उपलब्धिले यस अभियानले मूर्तरुप लिने आशा गरियो। तर यो आशा धेरै दिन टिक्न सकेन। केहि समय नबित्दै पुडासैनी, खतिवडा र पोख्रेल सबै मञ्चमा फर्किए। महिला अधिकारकर्मीहरुले यसको विरोध गरेपनि उपलब्धि हात परेन। पद र शक्तिको दुरुपयोग गरेर महिलामाथि यौनहिंसा गरेको सार्वजनिक हुँदा पनि उनिहरुको सामाजिक प्रतिष्ठामा असर नपर्नु र कुनै ठोस कारबाही त के अनुसन्धान पनि नहुनुले उनिहरुका विरुद्ध आवाज उठाएका महिलाहरुलाई असर पर्नुका साथै भविष्यमा बोल्न चाहनेहरुलाई पनि निरुत्साहित पारेको स्पष्ट छ।
नेपालमा मिटू अभियानले मूर्तरुपमा उपलब्धि हासिल नगरेपनि यसले विगतका यौनहिंसाका बारेमा बोल्ने र यसको बारेमा बहस गर्ने पारिपाटिको भने सुरुवात गरेको छ। जहाँ यौनहिंसाको बारेमा बोल्ने वातावरण नै थिएन त्यहाँ यो परिपाटिको सुरुवाट हुनु आफैमा एउटा उपलब्धि हो। तर यस अभियानको उदेश्य यसमै मात्र सिमीत हुनु होइन। अबका दिनहरुमा यस अभियानलाई अझै सशक्त रुपमा अघि बढाउने हामी सबैको जिम्मेवारी हो।

You might also like