News & Events
अं

अं - अपांगता भएका बालिका-किशोरी-महिला ।
धेरैको बुझाई छ, अपाङ्गता भएका व्यक्तिहरुले अन्य सरह काम गर्न सक्दैनन् । आत्मनिर्भर तरिकाले बाँच्न सक्दैनन् । उनीहरु यौन सम्बन्ध राख्न, सन्तान उत्पादन गर्न असक्षम हुन्छन् । उनीहरुको “फरक” शारिरीक र मानसिक अवस्थालाई यसमा कारक मानिन्छ ।
अपाङ्गताको मेडिकल परिभाषाले यसै भन्छ । समाज यहि परिभाषालाई मान्छ र अपाङ्गता भएका व्यक्तिहरुलाई “असक्षम” बताउछ । तर अपाङ्गताको सामाजिक मोडलले त्यसो भन्दैन । त्यसले भन्छ, अपाङ्गता भएका व्यक्तिहरुको अवस्थाले होइन कि हाम्रो भौतिक र सामाजिक संरचना जस्तै अपाङ्ग मैत्री नभएका घर, सडक, मानिसहरुको सहानूभूति वा हेयपूर्ण व्यवहार इत्यादीका कारण उनीहरु धेरै अवरोध झेल्न बाध्य छन् । जसका कारण उनीहरुले असहज जीवन बाँच्नु परिरहेछ । तर हामी त्यसलाई अपाङ्गताको नाम दिइरहेका छौं ।
अपाङ्गता भएका व्यक्तिहरुमा पनि महिला तथा बालिकाहरु अझै विभेदको शिकारमा पर्ने गर्छन् । उनीहरुको शारिरीक प्रतिकार गर्न सक्दैनन्, पीडकलाई चिन्न सक्दैनन् भन्ने मानसिकताका कारण पनि अपाङ्गता भएका महिला तथा बालिकामाथि हिंसा बढ्ने गर्छ । घटना भएर मुद्धा परिहाल्यो भने पनि उचित प्रमाण जुटाउन सक्दैनन् भन्ने मानसिकता पनि यसमा हावी भएको हुन्छ ।
अपाङ्गता अधिकारमा धेरै समयदेखि काम गर्दै आउनुभएको सरिता लामिछाने शारिरीक तथा बौद्धिक रुपमा असक्त महिला, किशोरी तथा बालिकाहरु माथी हुने गरेका यौन शोषणबारे बताउनुहुन्छ । यस्ता शोषणहरुमा छिमेकी, साथीहरु, परिवार र आफन्तहरु नै संलग्न भएको भेटिन्छ । ग्रामीण भेगमा अभिभावकहरु काममा जानु पर्ने हुदाँ घरमा एक्लै भएको मौकामा उनीहरुमाथी यौन हिंसा हुन्छ । गर्भ बसेको खण्डमा त अझ परिवारले नै बोझको रुपमा लिने गर्छन् ।
यसको समाधान गर्न कि तीन महिने संगिनी सुई लाउने वा पाठेघर नै झिकेर फ्ँयाक्ने समेत गरिन्छ । यसले अब त केटी गर्भवती पनि हुन्न भन्दै पीडकलाई झनै प्रोत्साहन मिल्ने कुरा सरिता बताउनु हुन्छ ।
त्यस्तै अपाङ्गता भएका पुरुषको तुलनामा महिलाहरुको विवाह कम हुने गर्छ । भए पनि पुरुषले अन्य व्यक्तिसँग विवाह गर्न पाउने मौका बढि पाउछ भने महिलाले कम । उनीहरुको यौनिकताबारे पनि समाजमा विभिन्न खाले शंका उपशंकाहरु चलिरहेकै हुन्छ । उनीहरु यौन सन्तुष्टि दिन वा लिन असक्षम हुन्छन् भन्ने बुझाई हुन्छ । आमा बनिरहेका महिलाहरुलाई यस्तो अपाङ्ग भएर पनि किन गर्भवती हुनु परेको, आफू आफ्नैको स्याहार गर्न नसक्नेले बच्चाको स्याहार कसले गर्छ भनिन्छ । परिवार, आफन्त, समाज र अस्पतालमा पनि यस्तो भन्ने गरेको उनीहरुको अनुभवले बताउछ ।
अपाङ्गता भएका व्यक्तिहरुमाथि भइरहेका यस्ता विभेदहरु समग्रमा भौतिक तथा समाजिक संरचनामा सुधार ल्याएर र आम मानिसहरुको सोचमा परिवर्तन ल्याएर मात्र हटाउन सकिन्छ ।


Fact-checking and verification workshop
Uncertain Journeys Launched in Delhi
The Alphabet of Violence and Resistance