News & Events
January 13, 2020
ङ

ङ - ङ (म) भनेको तामाङ्ग भाषामा | Writer - Kailash Rai | Artist - Anamika Gautam
तामाङ भाषामा ङ अर्थात् म । म बाट महिला, म बाट स्व अर्थात् स्वत्व । मंगोल मूलका तामाङ जातिको जीवन र जगतलाई हेर्ने आधारभूत दर्शन एक अलग खालको छ । तामाङ महिलाहरु सामाजिक-सांस्कृतिक-आर्थिक हिसाबले नेपालका हिन्दु समुदायका महिलाहरुभन्दा सशक्त र स्वतन्त्र हुन्छन् । तामाङ जातिको बसोबास हिमालयको काखदेखि महाभारतको दक्षिणी फेद हुँदै चुरेसम्म फैलिएको छ । भौगोलिक विविधताका कारण उनीहरुको दैनिक पोशाक र खानपानमा पनि विविधता छ । सामान्यत तामाङ केटी वा महिलाहरुले फुलबुट्टे रंगीन गुन्यू-चोली, कम्मरमा सेतो वा पहेलो पटुवा बाँध्ने गर्दछन् । तामाङ महिलाहरुको परम्परागत गुन्यू स्यामा हो । कामकाजी महिलाहरुले घलेकले टाउको छोप्छन् र हिमाली भेककाहरुले टोपी पनि लगाउने गर्छन् । पछिल्लो समयमा मखमली चोलोको प्रयोग निकै बढेको छ । त्यस्तै शिरमा म्हारम्हेन्दो (शिरफुल), कानामा कर्नफूल/चेप्टेसुन, नाकमा ढुंग्री र बुलाकी, घाँटीमा राती सीमाला, छातीमा सुन वा चाँदीको सिक्री, रंगीविरगी पोते, चाँदीको चारानी माला, आठानी माला र कम्पनीको हार, नाडीमा सुन वा चाँदीको बाला र खुट्टामा कल्ली तामाङ महिलाहरुको गरगहनाहरु हुन् ।
विवाह गरेर गएपश्चात उनीहरुको थर परिवर्तन हुँदैन । उनीहरुको सांस्कृतिक सिद्धान्तअनुरुप विवाहको विधिमार्फत् महिला निश्चित कर्म गर्न श्रीमान्को घर जाने गर्दछ । जसलाई सामाजिक रीतिरिवाजअनुरुप महिलाको मासु, रगत कुटुम्बलाई सुम्पिइन्छ । हाड सुम्पिइदैन । महिलाको अस्थि अर्थात् हाड माइतीमै राखिने र मृत्युपश्चात उक्त अस्थि माइतीमै फिर्ता गरिनुपर्ने परम्परा छ । त्यसले महिलाको आफ्नो थर र वंशको हक जन्मथलोमै स्थापित गरेको मानिन्छ । विवाह गरेर गइसकेपछि पनि माइतीघरमा उसले आफ्ना हकअधिकारहरुको भोगचलन गर्ने र कर्तव्य पालना गर्ने अधिकार समेत राख्दछ । तामाङ समुदायमा अस्थि अर्थात् हाड बुबाको वंश वा थर र रगत तथा मासुलाई आमाको वंशको प्रतीक मानिन्छ । यस अर्थमा बुबा र आमा दुबैको वंश पुस्तामा हस्तान्तरण हुने गर्छ । तामाङ महिलाहरु सिन्कोपाङ्ग्रो अर्थात पारपाचुके गर्नको निमित्त आत्मनिर्णयको अधिकार राख्छन् । श्रीमान्सँग सँगै बस्न इच्छुक नभएको खण्डमा अंश लिएर अलग्गै बस्न र पुनर्विवाह गर्न स्वन्त्र हुन्छन् । पारपाचुके गर्ने सहमति भइसकेपछि एक हाते सिन्का भाँचेर सम्बन्ध विच्छेद भएको जनाउ गरिन्छ र श्रीमान् श्रीमति एकआपसमा स्वतन्त्र भएको मानिन्छ । त्यस्तै तामाङ समुदायमा ‘विधवा’ को अवधारणा पाइदैन ।
तामाङहरुको मृत्यू संस्कार अर्थात् घेवा । महिलाको घेवामा माइती पक्षको अनिवार्य उपस्थिति हुनुपर्छ । कालगतिले मृत्यु भएको ठहरिएपछि माइतीको अनुमतिमा लाशको अन्तिम संस्कार गरिन्छ । मृत महिलाको हाडको प्रतीकको रुपमा माइतीले अस्थि जिम्मा लिन्छन् । अन्तरजातीय विवाह गरेको खण्डमा पनि महिलाको अस्थि माइती मै राख्ने गरिन्छ । यसरी पुनः महिला आफ्नै जन्मघर वा माइतीघरमा फर्केको मानिन्छ । उक्त अस्थिलाई माइतीले कुनै पवित्र स्थानमा लगेर राख्छन् र उनीहरुको विशेष अवसरहरुमा अस्थि राखिएको स्थानमा बत्ति बाल्ने गरिन्छ ।

Fact-checking and verification workshop
Uncertain Journeys Launched in Delhi
The Alphabet of Violence and Resistance