News & Events
January 13, 2020
ज

ज - जनयुद्द | Writer - Kailash Rai | Artist - Kunti Shree
सामान्यत जनताले राज्य वा सरकारको विपक्षीको रुपमा रहेर विद्रोह गर्नु वा युद्द गर्नुलाई जनयुद्द भनिन्छ । जुन एक क्रान्तिकारी संघर्ष हो । नेपालमा तत्कालिन नेकपा (माओवादी) ले वि.सं. २०५२ फागुन १ गतेदेखि राज्यविरुद्दको विद्रोह गरेको थियो । त्यसपछि २०६२ मंसीर ७ मा तत्कालिन सरकारसँग विस्तृत शान्ति सम्झौता भएसम्मको अवधिलाई ‘जनयुद्द’को अवधि मान्ने गरिन्छ । ‘जनयुद्द’ ले महिलाहरुको लैंगिक, जातीय, क्षेत्रीय हक अधिकार प्राप्तितर्फ डोर्याउने वा त्यस्ता अधिकार प्राप्तिको संघर्षमा सरिक हुने एकखालको आकर्षण पैदा गरेको थियो । जनयुद्धमा परम्परागत लैंगिक भूमिकाभन्दा भिन्न भूमिका र कार्य जिम्मेवारीमा महिलाहरु संलग्न भएका थिए । त्यसबेला सैन्य (जनमुक्ति सेना) तथा छापामार भूमिकामा करिब ४० प्रतिशत महिलाहरु सरिक रहेको माओवादीको दाबी थियो । जसलाई जनमुक्ति सेनाभित्रका महिला वीरङ्गनाको उपमा दिइएको थियो । जनयुद्धमा महिलाहरुको सशरिर संलग्नता, खासगरी बन्दुक बोकेको महिलाको तस्बीरलाई बढि प्राथमिकताका साथ सञ्चारमाध्यमहरुले छापे । महिलाको त्यस्तो छवि माओवादी आफैले पनि परिवर्तनको विम्वको रुपमा प्रयोग गरेको थियो । त्यस्तै नेपालका आदिवासी जनजाति मगरहरुको सघन बसोबास भएको क्षेत्र रोल्पाबाट थालिएको ‘जनयुद्ध’मा अधिक संख्यामा आदिवासी जनजातिहरुकै संलग्नता रह्यो । नेपालमा द्वन्द्व स्थागन र राजनीतिक स्थायित्वसम्बन्धी एक प्रतिवेदन (सन् २०१५)ले ‘नेपालका आदिवासी जनजातिहरु (मगर, थारु, तामाङ, किराती, लिम्बु आदि) हरु माओवादीको पर्यायवाची नै थिए’ भनेको छ ।
सीमान्तकृत, समूह र समुदायकै हकअधिकारलाई केन्द्रिय एजेन्डा बनाएर आदिवासी जनजाति, दलित, मधेसी र महिलाहरुलाई जनयुद्दमा व्यापक परिचालन गरिएको थियो । जनयुद्द र त्यसको नेतृत्वकर्ताहरुले यी समुदाय र समूहहरुलाई जातजातीय, लिंगीय, वर्गीय, क्षेत्रिय विभेद, शोषणको अन्त्य गर्ने आशा दिएको थियो । पहिचान र जातीय अधिकारको मुद्दाबाट जनयुद्दले जनजातिको विश्वास जित्यो । लैंगिक र महिलाकेन्द्री मुद्दाबाट महिलालाई आकर्षित गर्यो । जातीय एवं वर्गीय शोषणबाट मुक्तिको मुद्दा लिएर दलितलाई निकट ल्यायो । भौगोलिक एवं बहूल राष्ट्रियताको मुद्दाले मधेससम्म जनयुद्द फैलियो । शान्ति सम्झौतापश्चात यी मुद्दाहरु केही हदसम्म सम्बोधन भए । राज्यका विभिन्न निकाय, राजनीतिक दल र संविधानसभामा उल्लेख्य मात्रामा विविध सहभागिता रह्यो । लैंगिक समानता र समावेशीताको सिद्दान्त लागू गरिए । आलोचना र मतभेदको बीचमा भएपनि पहिचानको राजनीति र बहु राष्ट्रियताको मुद्दा सतहमा आयो ।
महत्वपूर्ण तथ्य, जनयुद्दबाट सबैभन्दा बढी प्रत्यक्ष र अप्रत्क्ष रुपमै प्रभावित हुनेहरु पनि तिनै सीमान्तकृत समूह र समुदाय हुन् । तीमध्येमा पनि सशरिर संलग्न भएर र नभइकन पनि जनयुद्दको भार र मार बाचुन्जेल खेप्ने समूह भने महिला हुन् । जनयुद्दका बखत घर र टोलमा पुरुषहरु नहुँदा महिलाहरु घर र समाजको कार्यभार सम्हाल्न बाध्य पारिइए । जनयुद्दमा सामेल भएका महिलाहरुले मातृत्वको भूमिका निभाउँदै एकैसाथ युद्द मैदानमा युद्द लडे । युद्दमा श्रीमान् मारिइए/सहिद भएपछि श्रीमान्को समेत जिम्मेवारी वहन गर्न अघि सरे वा कतिपय अवस्थामा बाध्यात्मक रुपमा श्रीमान्ले अधुरो छाडेको जिम्मेवारी पूरा गर्ने दायित्व उनीहरुमाथि सुम्पिइयो । सेना समायोजनको बखतमा मातृत्व, घरपरिवारको रेखदेख, श्रीमान्को वृत्ति विकासको निमित्त उनीहरुलाई घर फर्काइयो । क्रमिक रुपमा उनीहरुलाई पुरानै भूमिका र दायित्वमा फर्काइयो । जनयुद्दका बखत महिलाका लागि खुकुलो बन्न पुगेको सामाजिक-सांस्कृतिक संहिता र अभ्यासहरु पुनः साँघुरिन पुगेको छ । जनयुद्दले आदिवासी जनजातिहरुको मूल सरोकारका विषय उठानमा मद्दत गरेपनि पछिल्लो समयमा ती मुद्दाहरु पनि अलपत्र पर्दै गएका छन् ।

Fact-checking and verification workshop
Uncertain Journeys Launched in Delhi
The Alphabet of Violence and Resistance